अस्ट्रेलिया पढ्न आउदा थ्री ‘डी’ जान्नैपर्छ

0
11

थ्रीडी अर्थात अस्ट्रेलियामा आउने बित्तीकै सम्भवतः पाइने काम डर्टी, डिफीकल्ट र डेन्जर्सलाई भनिएको हो। विद्यार्थी जीवनमा आउने बित्तीकै पाइने काम भनेका क्लीनिङ, एज केयर, हाउस किपिङ, किचन ह्यान्ड, कन्ट्रक्सन र रजिस्ट्रर हुन्छन्।

कही कतैले आफन्त र आफ्नै बिजनेश नगरे सामान्यतया अस्ट्रेलिया आउने बित्तीकै पाइने जागिर यीनै हुन्। बिदेश जाने भन्ने बित्तिकै तीन हात उफ्रने हाम्रो संस्कार र गएपछि डलर फलिहाल्छ भन्ने मनोवृत्तिले धेरैलाई निराश पारेको देखिन्छ।

घन्टे कमाइ, काम, कलेज, कोठा र असाइनमेन्टले विद्यार्थीको कलेटी परेका ओठमो दिनचर्यालाई सहजै अनुमान लगाउन सकिन्छ। जे होस् डलरको दाममा साटिँदै गर्दा अधिकांश नेपाली कतै न कतै थ्रीडीबाट गुज्रेकै छन्।

‘हिजोका दिनमा हामीले पनि यस्तै गरेका हौं बाबु’, अहिले हिल्स र वाटर फन्टमा घरजम गरेर बसेकाहरू भन्छन्।

अस्ट्रेलिया छिरेका अधिकांश नेपाली आखिर के काम गर्छन् त? एज केयर (बुढाबुढी स्याहार्ने काम) धेरै नेपालीको कमाइको राम्रो बाटो बनेको छ। त्यस्तै केयर टेकरको जागिर पनि धेरैलाई फलिफाप छ।

नेपाली मात्र होइन भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकनलगायत अधिकांश एसियाली आप्रवासीको कथा उस्तै छ। विश्वविद्यालयमा मास्टर्सदेखि ब्याचलर गरेर बसेकाहरू क्लिनिङ र किचेनतिर भेटिनु सामान्य नै हो ।

क्लिनिङ अर्थात् सरसफाइ, धेरै दक्षिण एसियालीको रोजाइ र कमाइको राम्रो क्षेत्र बनेको छ अस्ट्रेलियामा। कलेज र स्कुल र अफिस सरसफाइ गर्नुलाई राम्रो र सुरक्षित मानिन्छ। पब, रेस्टुरेन्ट र किचेन क्लिनिङलाई कठिन रूपमा लिने गरिन्छ। यो पेशाले धेरै विद्यार्थीहरुलाई राहत दिएको छ। प्रायः बिहानै र राति काम गर्नुपर्ने यसको मुख्य कठिनाइ हुन्।

घन्टाको १८ देखि २५ डलरसम्म पाइने यस्ता कामलाई नेपाली भाषामा फोहारी काम भन्ने गरिन्छ। अधिकांश नेपाली युवा विद्यार्थीदेखि भविस्य खोज्न यहाँ आएका डाक्टर र इन्जिनियर यो काममा लागेका भेटिन्छन्। बिहान र बुलुका गरी दुई सिफ्टसम्म चल्ने यस्ता काम गर्ने नेपालीको घुइँचो लाग्ने गर्छ।

यस्तो काम गरेर नेपालीले साताको आठ सयदेखि एक हजार डलरसम्म कमाउने गर्छन्। पब र रेस्टुरेन्ट क्लिनिङ भने रातभर चल्छ। करसँगै क्यासमा पनि काम हुने भएकाले विद्यार्थीका लागि यस्तो काम राम्रो आय आर्जन गर्ने माध्यम बनेको छ।

अधिकांश विद्यार्थी क्यासमा क्लिनिङ गर्नुलाई उपयुक्त विकल्पका रूपमा लिन्छन्। महंगो पढाइ र बसाइले पनि उनीहरुलाई यस्तो काम गर्न बाध्य पारेको हो। यतिखेर त अस्ट्रेलिया सरकारले कलेज वा युनिभर्सिटी सम्वन्धी नयाँ कडाइ निर्णय गरेपछि विद्यार्थीको बेहाल नै भएको छ।

२० घन्टे कामले उनीहरूलाई खान र बस्न मात्र पुग्छ, वर्षको २० औं लाखको कलेज फी कसरी तिर्ने भन्ने चिन्ताले उनीहरू दिनरात नभनी क्यास र ट्याक्समा भिड्न बाध्य छन्।

पढाइअनुसारको काम नपाउँदा कयैन इन्जिनियर र मास्टर डिग्री सकेका विद्यार्थीसमेत आजित भएर यतिखेर क्लिनिङमा काम गरेको उदाहरण भेटिन्छन्।

डर्टीसँगै डिफिकल्टी र डेन्जर्समा कन्सट्रक्सन (निर्माण) का काम पनि पर्छन्। ‘कमाइ राम्रो हुने भए पनि निकै परिश्रम जोखिमयुक्त काम हो कन्ट्रक्सन’, एक कन्ट्रक्सनमा काम गर्दै आएका नेपाली विद्यार्थीले भने।

काठमाडौंमा राम्रै परिवारमा जन्मेर आरामदायी जीवन बिताउनेका लागि भने अस्ट्रेलियाको जीवन चुनौतीपूर्ण छ। निकै हौसिएर आएकी मैनाली थरकी काठमाडौंकी एक युवती सिड्नी आएपछि दोधारमा परेकी छन्। ‘यस्तो हुन्छ भन्ने पहिल्यै थाहा भएको भए सायद…’, सेतोपाटीसँगको कुराकानीमा उनले बिचमै कुरा टुंग्याइन्।

विद्यार्थी भिसा लागेपछि काठमाडौंमा ठूलै पार्टी आयोजना गरेर यता आएको क्षण सम्झँदै उनले भनिन्, ‘अहिले दोधारमा छु, डलरलाई रातको निद्रासँग साट्नुपर्दा।’

नेपाली वा दक्षिण एसियाली मात्र होइन, अन्य मुलुकबाट आएका चिकित्सक र इन्जिनियर पनि यहाँ मापदण्डको परीक्षाबाट गुज्रनुपर्ने हुन्छ। युरोपेली मुलुक मेसोडोनियाबाट चिकित्साशात्रमा एमडी गरेकी एक युवतीसमेत क्लिनिङमा भेटिइन्।

त्यसमा फेल भए अन्य पेसा रोज्नुबाहेक विकल्प हुँदैन। मेसोडोनियाबाट एमबीबीएस गरेकी हेलेना यहाँको एक विश्वबिद्यालयमा क्लिनिङ गर्छिन्। बिहान चार बजेदेखि आठ बजेसम्म गर्ने सरसफाइको कामलाई उनी ‘पार्ट टाइम जब’ भन्न रूचाउँछिन्।

योग्यताअनुसारको काम नपाउन्जेल यो उत्तम विकल्प रहेको उनको ठम्याइ छ। पढाइअनुसारको काम पाउनु यतिबेला फलामको चिउराझैँ भएको छ अस्ट्रेलियामा।

सीए पढेकाहरू होटलका नाइट मेनेजर र आइटी पढेकाहरु जसोतसो टिकाउ धन्धामा लागेका पाइन्छन्। कुक र किचेन समाल्नेका लागि भने काम केही सहज देखिन्छ यहाँ।

अहिले मिलियनर भएका र वाटर फ्रन्टमा घरजम गर्ने नेपालीले पनि कुनै जमानामा यसको भागिदार बनेको बताउन हिच्कीचाउँदैनन्।

सन् १९६१ मा पहिलो पटक दुई नेपाली अस्ट्रेलिया आएको तथ्य रेकर्डमा रहे पनि को आए र के का लागि आए भन्ने प्रमाण अझै कोही सँग छैन।

त्यसपछि सन् १९७३ मा मेलवर्न आएका अगुवा नारायण प्रधान अर्को नेपाली भेट्न आफूलाई दुइ वर्ष लागेको अनुभव सुनाउँछन्। तर, यतीखेर सिड्नीको कुनै पनि टोल होस वा ट्रेन नेपाली नभेट्ने त दृष्य हुँदैन।

सिड्नीको रकडेल, कोग्राह , हर्षभिल अनि अर्वन, ग्रानभील जस्ता इलाकामा त नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

LEAVE A REPLY